काठमाण्डौंः आगामी माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनका लागि उम्मेद्धारी दिएको लोकतान्त्रिक समूहले नतिजा आफ्नो पक्षमा हुने दावी गर्दै पत्रकार सम्मेलनको आयोजना गरेकाे छ ।
पत्रकार सम्मेलनमा लोकतान्त्रिक समुहले आम चिकित्सकको मुद्धामा आफ्नो प्यानलबाट उठेका उम्मेद्धारहरु बढी जानकार र क्रियाशिल भएका कारण आफ्नो पक्षमा भाेट आउने र निर्वाचन आफ्नो पक्षमा हुने दावी गरेको हो ।
शुक्रबार घोषणा पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेद्धार डा लोचन कार्कीले चिकित्सकका माझ ५ वटा प्रतिवद्धाका साथ भोट मागिएको बताए ।
चिकित्सकहरुको पेशागत सुरक्षा र बृत्तिविकास, गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा, राष्ट्रिय नीति योजना निर्माणमा योगदान र अन्तराष्ट्रिय सम्वन्ध, सरकारी निजी साझेदारीको विषय र संघको संस्थागत विकास र सांगठनिक पुन संरचना गरी ५ प्रतिवद्धता रहेकाे अध्यक्ष उम्मेद्धार डा. कार्कीले बताए ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेस निकटको चिकित्सकहरुको लोकतान्त्रिक समूह र नेकपा निकट चिकित्सकहरुको प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा केही चिकित्सकहरुले स्वतन्त्र रुपमा समेत उम्मेद्धारी समेत दिएका छन् ।
