काठमाण्डौ: प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५का बम बिस्फोटन घटनाका पीडित परिवारलाई भेटेका छन् ।
मुख्यमन्त्रीसहितको टोलीले आइतबार बिहानै घटनास्थल पुगी बम विस्फोट घटनाको बारेमा बुझि पीडित परिवारलाई सान्तवना दिएका हुन् ।
पीडित परिवारलाई भेट्न पुगेका मुख्यमन्त्री राउतले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवार राहत समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरिने समेत उनले बताएका थिए ।
शुक्रबार मध्यरातमा बम बिस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रगरका प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको मृत्यु भएको थियो ।
मृतक दाहालसहित राजेश साह र आनन्द साहको शनिबार साँझ अन्तेष्टि गरिसकेको छ ।
घटनाको छानविनका क्रममा पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छ्न् ।
