काठमाण्डौः डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानी काठमाण्डौमा प्रदर्शन सहित आमसभा गरेको छ ।
जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवशको सन्दर्भ पारेर शनिवार राजधानी काठमाण्डौको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शक्ति प्रर्दशन सहित आमसभाको आयोजना गरेको हो ।
उक्त पार्टीले प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस कार्यक्रम उपनिर्वाचनका कारण यस बर्ष मंसिर ७ गते नै मनाएको हो ।
रंगभेद विरुद्धको अभियान स्वरुप आयोजना गरिएको सो कार्यक्रममा नो रेसिजमका नारा र प्ले कार्ड सहित आजको प्रदर्शनमा सहभागीहरुले आफ्नो उपस्थिति जनाएका थिए ।
राजधानीका गौशला, महाराजगञ्ज, र्कितिपुर लगायतका विभिन्न स्थानबाट झाँकी सहितको र्याली भृकुटीमण्डप पुगी सभामा परिणत भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष एवं प्रमख अतिथि डा. सिके राउतले मधेसी, थारु, आदिवासी जनजातिसँग भईरहेको रंगभेद अन्त्य गर्नुपर्ने बताए ।
उनले रंगभेद अन्त्य नभएसम्म जनताले परिर्वतनको महसुस गर्न नसक्नुको साथै मुलुकको समुन्नत विकास नहुने दावी गरेका छन् ।
नेपालको राजनितिमा पहाडीको हात रहेको घुमाउरो पाराले बोलेका राउतले अधिकांस भाषणमा पहाडीका कारण देशले दुर्दर्शा भोग्नुपरेको बताएका थिए ।
राजनीतिक उद्देश्यका लागि नभई मानवीय भावनाले आयोजना गरिएको कार्यक्रमलाई रंगभेद विरुद्ध एकतासभा तथा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन नाम दिइएको थियो ।
गत फाल्गुन २४ गते सरकारसँग सम्झौता गरेर मुलधारको राजनीतिमा आएको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले आफ्नो नयाँ जनमत पार्टी मार्फत १४ मंसिरमा हुने उपचुनावमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी समेत दिएको छ ।