सदाबहार खबरको रफ्तार ....
असोज २०, २०८१ आइतबार
October 6, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

होलबडी चेकअप: कुन- कुन अस्पतालमा कति शुल्क लाग्छ, जानीराखाैं

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : हाम्रो नेपाली समाजमा बिरामी हुँदा मात्रै स्वास्थ्य जाँच गर्ने प्रचलन ब्याप्त रहेको छ । तर हिजोआज आधुनिक परिवेशमा स्वास्थ्य प्रतिको सजगता बढ्दै गएको पाईन्छ । ग्रामिण भेगमा पनि समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन बढ्दै गएको छ ।

खानपानमा हेलचेक्र्याइँ गर्ने प्रबृती आमजनमानसमा ब्याप्त रहेको छ । मिठो र स्वादिलो खानपानले धेरै मानिसहरू रोगको सिकार भइरहेका हुन्छन् । अर्गानिक खानपिन भन्दा बिषादी हालेका खाद्यान्न तथा साग सब्जीहरू बजारमा सस्तो रूपमा पाइने र धेरैको भान्सामा पाक्ने गर्छ । धेरै मानिसहरू त्यही खानपानका कारण बिरामी हुने गर्छन ।

आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन् । तिनै मध्यको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात पुरा शारीरिक परीक्षण । होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के-के जाँच गरिन्छ, के-के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ उति धेरै जानकारा भएको पाइँदैन।

के हो ‘होल बडी चेकअप’ ?

‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो सम्भावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ । दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन् । ति सुझावहरु अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ।

त्यस्तै होल बडी चेकअपमा मुत्र थैलीको अबस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होलबडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने। होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शुल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्। त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्।

के-के जाँच गरिन्छ?

तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतया यसमा उमेर र, लिङ्ग हेरेर निम्न जाँच गरिन्छ:

रगतबाट गरिने जाँच:

– रक्त कण गणना (कम्प्लिट ब्लड काउन्ट)
– रक्त समूह (ब्लड ग्रुप)
– सुगर (फास्टिङ/पोस्टप्रान्डियल/रेन्डम)
– कलेजो (लिभर फंसन टेस्ट)
– मिर्गौला (रिनल फंसन टेस्ट)
– कोलेस्टेरोल (लिपिड प्रोफाइल)
– युरिक एसिड
– थाइराइड (थाइराइड फंसन टेस्ट)
– भिटामिन डी
– हेपाटाइटिस बी/ सी/ एचआइभी/ भिडिआरएल/ टिपिएचए

पिसाबको जाँच: पिसाबमा इन्फेक्सन, सुगर, प्रोटिन (अल्बुमिन) को मात्रा।
दिसाको जाँच: दिसामा इन्फेक्सन, जुका, रगत (ओकल्ट ब्लड) भएको/नभएको।
फोक्सो (पल्मोनरी फंसन टेस्ट)
छातीको एक्सरे (सिएक्सआर-पिए)
इको (इकोकार्डियोग्राफी)
भिडियो एक्सरे (पेट) (युएसजी-एब्डोमेन/पेल्भिस)
पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मेयर
४० वर्षभन्दा माथिका महिलाका लागि म्यामोग्राफी
४५ वर्षभन्दा माथिका पुरुषका लागि प्रोस्टेट जाँच (पिएसए)

होलबडी चेकअपका लागि पूर्वतयारी:

कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनुभन्दा अगाडि
तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ। त्यसकारण
जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवस्यक छ:

– जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८-१० घन्टा सुत्नुपर्छ।
– जाँच गर्नुभन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानु पर्छ। धेरै बोसोयुक्त खाना खानाले टिजी
(रगतमा ट्राइग्लिसराइड- रगतमा हुने बोसोको मात्रा) बढाउँछ। प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ। ब्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ।
– विशेसगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८-१० घन्टा खाली पेट हुनु अनिवार्य
हुन्छ।
– कमसेकम २४ घन्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ । भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ।
– जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ।
– जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको बारे जानकारी गराउनुपर्छ।
– पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।

‘होल बडी चेक’ अप कुन अस्पतालमा कति शुल्क ? (मूल्य रकम सहित)

(क)  त्रि.वि. शिक्षण अस्पताल

काठमाण्डौं स्थित महाराजगञ्जमा रहेको त्रि.वि. शिक्षण अस्पताल सरकारी अस्पताल हो । चिकित्साश्त्र सम्बन्धी (MBBS) पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो । पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ ।
होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ ।

(ख)  सिभिल अस्पताल

नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी रुपमा सञ्चालित रहेको छ । विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।

(ग)  बी एण्ड बी अस्पताल

ललितपुरको ग्वार्कोमा अवस्थित बी एण्ड बी अस्पताल शतप्रतिशत निजी तवरले सञ्चालित अस्पताल हो । विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ । पहिलो समूह अन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ ।

पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ । जसको शुल्क ३ हजार ५ सय शुल्क लाग्दछ ।
मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ । ब्लड प्रेसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ । ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।

(घ)  सुमेरु अस्पताल

ललितपुरको धापाखेलमा रहेको सुमेरु निजी तवरबाट सञ्चालित अस्पताल हो । यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार ५ सय ५० रुपैयाँ शुल्क लाग्छ । यदी प्रारम्भिक चरणमा कुनै अङ्गमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ । यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ ।

(ङ)  अल्का अस्पताल

निजी तवरमा सञ्चालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ । समूह अनुसार शुल्क फरक फरक पर्दछ । सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लड प्रेसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ ।

(च)  नर्भिक अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट सञ्चालित रहेको छ । नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ । महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लड प्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।

(छ)  ओम अस्पताल

निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार ५ सय र महिलाको हकमा १४ हजार ६ सय शुल्क रहेको छ।

(ज)  वयोधा अस्पताल

बल्खु रिङग रोडसँगै रहेको वयोधा अस्पताल पनि निजी क्षेत्रबाट सञ्चालित अस्पताल हो । यहाँ सामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार ५ सय र पहिलाको ११ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।

(झ)  ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ । यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ । ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ । दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मी संवेदनशील हुन आवश्यक: मुख्यमन्त्री कार्की

बाजुरा अस्पतालमा अक्सिजन अभाव

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

अर्थोपेडिक अस्पताललाई रसायन तथा मेडिकल आपूर्ति सङ्घको सहयोग

सिङमा हरियो रङ लगाएका खसीबोका मात्रै खरिद गर्न विभागकाे सुझाव

प्रभावितलाई तत्काल राहत वितरण गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन – स्वास्थ्य मन्त्रालय

रु १२ करोड लागतमा ट्रमा सेन्टर

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

घटेन डेंगी सङ्क्रमण

विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्य

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण