काठमाण्डौः अवैध लागुऔषध कारोबारीलाई पछ्याउँदै जाँदा पक्राउ गर्ने क्रममा गोली प्रहार भएको छ ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको वडा नम्बर ४ ठाराढुंगामा मंगलबार बेलुका रुकुमपूर्वको प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो ।
प्रहरीको चाइनिज पेस्तोलबाट प्रहार गरिएको गोली लागेर मुसीकोट नगरपालिका ११ का २५ वर्षीय निर्मल पुन घाइते भएका छन् । कम्मरमुनि ताकिएको गोलीले पुनको झन्डै अण्डकोष फुट्नबाट बचेको थियो ।
उनलाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । घाइते पुनसँगै सोही वडाका ३५ वर्षकी लक्ष्मी पुनलाई पनि प्रहरी पक्राउ गरेको छ भने २८ वर्षका जयप्रकाश पुन भागेका छन् ।
कन्ट्रोल डेलिभरीका क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै हातपात प्रयास गरेकाले गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
