सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अपराध भएको भए खुला रूपले स्वीकार्न र प्रायश्चित्त गर्न डा. बाबुराम भट्टराईको महरालाई खुलापत्र   

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सत्तारूढ समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महरालाई सम्बोधन गर्दै मध्यरातमा खुलापत्र लेखेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सम्बोधन गर्दै मध्यरातमा भट्टराईले लेखेको पत्रमा जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै क्रान्तिकारी आन्दोलन र देशको हितमा हुने महरालाई सुझाब दिएका छन् ।

भट्टराइले भनेका छन् अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई महरातर्फ नै सोझिएको कुरा उक्त पत्रमा उल्लेख गरेका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई गत आईतबार बलात्कार गरेको आरोप लागेपछि महराले सभामुख पदसमेत गुमाइसकेका छन् ।

डा. बाबुराम भट्टराईले शुक्रबार मध्यराती महरालाइ लेखेको खुलापत्र जस्ताको तस्तैः

प्रिय महराजी,

हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु !

१. माओवादी नेतृत्व तहमा हामी (विशेषत: प्रचण्ड र म) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं ! हामी वीच विवाद पर्दा तपाईं दुइ जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं! प्रचण्ड र मेरो वीचमा २०५५-५६ मा पहिलो ठुलो वैचारिक-सांगठनिक वहस हुँदा २०५६ साउन/भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुइजनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं! ( दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने वित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो!)

पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो ! २०७१ सालमा बोगटीजीको दु:खद निधन र पार्टीको क्रमश: ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्ण बनाउँदै लग्यो! कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए ! तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ।यसलाई तपाईं हामी सबैले स्वीकार्नै पर्छ !

२. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला।हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो।यसमा हामीले सामुहिक गर्व गर्नुपर्छ ! तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैन; कि त त्यो अघि बढाइनु/बढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ।त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ! अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन् !

यहींनेर हामी चुक्यौं! मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ! साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन! त्यसैले अब क्रमश: साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ! तपाईं (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमूना हो !

३. यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ! सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ ! तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ ! हामीले SLC मा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं! त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ !

यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेवारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु:

‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना।

तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।।

साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबा:।

तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन!अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ !

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाहिं पुरूष पनि उत्पीडन वा प्रतिशोध/षड्यन्त्रको जालमा पर्नसक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ। त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफुलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ! त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ !

यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ । भनिन्छ- गल्ती गर्नु अपराध हैन; गल्ती नसच्याउनु अपराध हो !

तपाईंको शुभेच्छुक,

बाबुराम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल-भारत सम्बन्ध : निकटतादेखि साझेदारीसम्म – बिनोज बस्न्यात

सुगौली सन्धिको मूल प्रति : प्रा. श्रीरामप्रसाद उपाध्याय

के हुनुपर्छ महाभियोगको उद्देश्य ? – चन्द्रकान्त ज्ञवाली

के हुनुपर्छ सरकारको तात्कालिक कार्यभार ? – अर्जुननरसिंह केसी

कहाँनिर बिग्रियो हाम्रो शिक्षा प्रणाली ? : डा. जयराज आचार्य

बालेन्द्र शाहका कदम-फगत स्टन्ट कि असल नियत ? : युवराज घिमिरे

कर्मचारीको खस्कँदो मनोबल र संघीय निजामती सेवा विधेयक – प्रेमलकुमार खनाल

१५औं महाधिवेशन र नेपाली कांग्रेसको भावी दिशा : डा. शोभाकर पराजुली

त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो:डा बाबुराम भट्टराई

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन : एकराज पाठक

एमालेभित्र नेतृत्व सङ्कट: नैतिक जिम्मेवारीको अभिनय कि साङ्गठनिक कब्जा ?

प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान : श्यामप्रसाद मैनाली