सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विषादी छर्केर जुनार जोगाउँदै किसान

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिन्धुलीका जु्नार किसान ‘प्रोटिन बेट’ नामक विषादी छिटेर औँसा किरा नियन्त्रण गरी जुनारलाई सुरक्षित गर्ने अभियानमा जुटेका छन् ।

पालिका, प्रधानमन्त्री जुनार सुपरजोन परियोजना र किसानको सहभागितामा ‘प्रोटिन बेट’ नामक विषादी छिटेर जुनारलाई सुरक्षित गर्ने अभियान सुरु गरिएको हो ।

गत वैशाख महिनाको अन्तिम हप्तादेखि जुनार बगैँचामा उक्त विषादी छिट्न सुरु गरिएको र १० देखि १२ हप्तासम्म छिट्नुपर्ने परियोजनाले जनाएको छ । परियोजनाका अनुसार जुनारको फल जोगाउन उक्त विषादी प्रभावकारी देखिएपछि विगत पाँच वर्षदेखि प्रत्येक वर्ष जुनारको चिचिला लाग्ने सिजनमा किसानको समेत लगानीमा उक्त विषादी छिट्ने कार्य हुँदै आएको छ ।

उक्त विषादीबाट औँसा किरा नियन्त्रण सफल भएपछि उत्साहित भएर किसानले नै ५० प्रतिशत लगानी गरी किरा नियन्त्रण अभियानमा थालेका हुन् ।

उक्त विषादीमा दुई भाग पानी मिसाएर १० देखि १२ हप्तासम्म जुनारको बोटमा छिट्नुपर्ने परियोजनाका प्राविधिक जहानबहादुर कार्कीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष प्रत्येक हप्ताको शनिबार सबै ठाउँमा एक पटक विषादी छिट्ने कार्य हुँदै आएको छ ।” प्राविधिक कार्कीका अनुसार ब्याक्टेसेरा मिनाक्स नामक ढाडे झिँगाले जुनारको फलभित्र फूल पार्ने र गुलियोपन बढ्दै गएपछि औँसा भएर लार्भा बनी जुनारलाई खोक्रो बनाउने गरेको पाइएको छ ।

जुनारको फल कुहाउने औँसा पार्ने किराको पोथी झिँगालाई फूल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजी गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको उहाँको भनाइ छ ।

“यो सस्तो र भरपर्दा विषादी हो,” प्राविधिक कार्कीले थप्नुभयो, “स्प्रेकर्ताले औषधी स्प्रे गरेको ठाउँमा किराहरू झुम्मिएर आउँछन् र मर्छन् ।” विषादी स्प्रे गर्न तालिम दिएर ४२ जना परिचालन गरिएको परियोजनाले जनाएको छ । उहाँका अनुसार प्रत्येक तीन बोट बराबर एक बोटको केही भागमा औषधी स्प्रे गरिन्छ ।

त्यसो त गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान केदार राक्से ठकुरीको साढे नौ रापनी जमिन यतिखेर जुनार खेतीले ढाकेको छ । जुनारको फल जोगाउन प्रत्येक वर्ष ‘प्रोटिन बेट’ विषादी छर्कने गरेको उहाँले बताउनुभयो । गाउँपालिका, परियोजना र आफ्नो लगानीमा विषादी छर्कंदै आएको उहाँको भनाइ छ । उहाँले जुनार बिक्री गरी प्रत्येक वर्ष कम्तीमा पनि १५ लाख रुपियाँ आम्दानी लिँदै आउनुभएको छ ।  उहाँ जुनार सखाप पार्ने किरा मार्नका लागि उक्त औषधी प्रभावकारी देखिएपछि विषादी छर्न किसान हौसिएको बताउनुहुन्छ । उहाँका अनुसार जुनारको फल दिन सुरु गरेका प्रत्येक किसानले बगैँचामा विषादी स्प्रे गरेका छन् ।

परियोजनाका अनुसार नेपालमै सबैभन्दा बढी जुनार उत्पादन हुने सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३, गोलन्जोर गाउँपालिका–१, २, ३, ४, ५, ६, तीनपाटन गाउँपालिका–७ र सुनकोशी गाउँपालिका–७ परियोजनाको कार्य क्षेत्र हो । परियोजनाको कार्य क्षेत्रमा जुनार खेतीले १० हजार पाँच सय हेक्टर ढाकेको छ । जिल्लामा जुनार खेती हुँदै आएको कुल क्षेत्रफल करिब १३ हजार हेक्टर रहेको छ ।

गएको सिजनमा जिल्लामा नौ हजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएको प्राविधिक कार्कीले जानकारी दिनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना केबलकार ५० दिन बन्द

वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल

छैन पहिरो रोक्ने दीर्घकालीन योजना

प्रधानमन्त्रीमा केपी शर्मा तीन वर्षपछि कमब्याक

देशभर बयालिस प्रतिशत रोपाइँ

रात्रिकालीन सवारी नचलाउने निर्णय

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को–को हुँदै छन् मन्त्री ?

को बन्दैछ बाग्मतीमा मुख्यमन्त्री ?

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य

१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन

सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त