काठमाण्डौः बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन सर्वदलीय सहमती जुटेकाे छ । शुक्रबार प्रदेश सभा भवनमा बसेकाे सर्वदलीय बैठकमा यस्तो सहमति भएको हाे ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाका अनुसार वैशाख ३१ गते बागमती प्रदेशसभाको अधिवेशन आह्वान गर्ने गरी सरकारले सिफारिस गर्ने सहमति भएको हाे । ‘जेठ १ मा प्रि बजेट छलफल, १५ गते नीति तथा कार्यक्रम पेस, असार १ गते बजेट पेस गर्ने गरी संसद्को क्यालेन्डर बनाउन पनि दलहरूबिच सहमति जुटेको थपलियाले बताए ।
त्यस्तै बजेटमाथिको विगतको कमजोरी सुधारेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरू सहमत भएका छन् । यसअघिको बजेट सन्तुलित नभएको भन्दै विरोध भएको थियो ।
सर्वदलीय बैठकले प्रदेशसभाका पाँच संसदीय समिति सभापति चयनका लागि दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई सहमति जुटाउन अनुमति दिने निर्णय पनि गरेको छ । कार्यदलले जेठ ४ सम्म समिति सभापतिका लागि सहमति जुटाउन नसके निर्वाचन प्रक्रिया अघि बढाउने’बारे दलहरू सहमत भएका छन् ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले समिति सभापतिमा मुख्य पाँच दललाई एक एक समिति सभापति दिने गरी प्रस्ताव पेस गरेका थिए । कार्यदलले यसैलाई आधार बनाएर टुङ्ग्याउने नेताहरूको दाबी रहेको छ ।
प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । मुख्यमन्त्रीको प्रस्तावमा सहमति जुटे हाम्रो नेपाली पार्टी र नेमकिपाले समिति सभापति पाउने छैनन् ।
बजेटमाथिको विगतको कमजोरी सुधारेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरू सहमत भएको बताइएको छ। यसअघिको बजेट सन्तुलित नभएको भन्दै विरोध भएको थियो। सरकारमा सहभागिताकाे लागि नयाँ गठबन्धन जुटेपछि अब समितकाे सभापति पनि टुङ्गिने देखिएकाे छ । राजधानी