काठमाण्डौः यौनशोषणको आरोपमा युट्युवर अर्जुन शिवाकोटी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई काठमाडौंबाट पक्राउ गरेको हो । ३८ बर्षीय शिवाकोटीलाई काठमाडौंका दुई किशोरीलाई बलात्कार गरेको अभियोग लागेको छ ।
‘मेरो मेकिङ नेपाल’ युट्युव च्यानलका संचालक शिवाकोटीले १४ र १२ बर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गर्ने गरेको महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिएका छन।
०७६ असोजदेखि १४ बर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्ने गरेका थिए ।
पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए । ति छोरीहरुले ‘अंकल’ भन्ने हुनाले सँगै देख्दा परिवारका सदस्यले पनि लामो समय शंका गरेनन् ।
यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धक्कि दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् ।
