काठमाण्डौं : संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै छैठौँ अधिवेशन प्रारम्भ भएको हो ।
संघिय संसद भवनमा शुक्रबार अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको हो । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने सैवैधानिक व्यवस्थाका बीच कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ।
कोरोना जाँचको रिपोर्टको आधारमा मात्र सांसदलाई भित्र प्रवेश गराइएको छ। बैठक कक्षमा सामाजिक दुरी कायम हुने गरी बस्ने कुर्सी मिलाइएको छ। त्यसैगरी दुवै सदनको बैठक कक्षलाई सेनिटाइज्ड तथा डिस इन्फेक्टेड गरिएको छ। कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ।
सांसदहरुको तापक्रम (ज्वरो) नापेर मात्रै संसद भवनभित्र पस्न दिइएको छ। गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन्। भित्र छिर्नु अघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ। सांसदहरुले मास्क र पञ्जा लगाएका छन्।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैशाख २८ गतेदेखी ३० गतेसम्म अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ। जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम रहेको छ।
राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन्।
