बिपी कोइराला गृहमन्त्रीका रूपमा इलाम आएका वेला ००८ सालमा पहिलोचोटि उहाँलाई देखेको थिएँ । कांग्रेसीहरूले ठूलो मञ्च बनाएर भव्य स्वागत गरेका थिए । बिपीको नामचाहिँ पहिल्यै राणाकालमै पत्रपत्रिका मार्फत थाहा पाएको थिएँ । राणाकालमा पत्रपत्रिका लुकाएर ल्याइन्थ्यो । नेपाल पुकार, युगवाणी आउँथे । बुबाले पत्रिका ल्याउनुहुन्थ्यो । पत्रिका पढेर बिपी, गणेशमान सिंह, सुवर्णशमशेर, मातृकाप्रसाद कोइरालालगायत नेताले गरेका संघर्षबारे थाहा पाएको थिएँ । राणा शासनको समाप्तिपछि पनि मोहनशमशेर नै प्रधानमन्त्री भए, बिपी गृहमन्त्री ।
अचानक मैले सुनेँ, ‘मोहनशमशेरसँग मतान्तरका कारण बिपीले राजीनामा दिए रे !’ खबर सुन्दा नमज्जा लागेको थियो । बिपीसँग पहिलो प्रत्यक्ष भेटचाहिँ ०१२ मा काठमाडौंमा भयो । पहिलो भेटपछि बिपीसँग निरन्तर भेट हुन थाल्यो । भेटमा इलामबारे चासो राख्नुहुन्थ्यो, सोधिरहनुहुन्थ्यो । म पनि उहाँलाई सुझाब दिन पछि पर्दिनथेँ । ०१२ सालमा विराटनगरमा बिपीले सम्मेलन गराउनुभयो । भर्खरै एसएलसी पास गरेको म सम्मेलनमा भाग लिन विराटनगर गएको थिएँ । इलामबाट दार्जिलिङ हुँदै सिलिगुडी त्यसपछि जोगबनी नाका भएर विराटनगर जानुपथ्र्यो । बिपी त्यतिवेला पार्टी सभापति हुनुहुन्थ्यो ।
०१५ सालमा बिपी फेरि इलाम आउनुभयो । उहाँले इलामका एक–दुई ठाउँमा भाषण पनि गर्नुभयो । इलाम बजारको सभामा ‘नेपालमा किन प्रजातन्त्रको आवश्यकता छ ? प्रजातन्त्रमा आवधिक निर्वाचनको महत्व किन छ ?’ भन्ने विषयमा धाराप्रवाह बोल्नुभएको थियो । बिपी र उहाँको साथमा रहेका साथीहरूलाई माईखोलासम्म पु-याएर बिदावारी गरियो । अरूले जस्तै म पनि बिपीलाई सान्दाइ भन्थेँ । ‘सान्दाइ ! अब काठमाडौंमा भेटौँला निर्वाचन सकेर’ भन्दै बिदाइ गरेको सम्झिन्छु । ०१५ मा निर्वाचन भयो । माहोल हेर्दा कांग्रेसले निर्वाचन जित्ने पक्काजस्तै भइसकेको थियो । अनुमानअनुसार नै कांग्रेसले अत्यधिक बहुमतले जित्यो, दुइतिहाई बहुमत नै ल्यायो । राजा महेन्द्र कांग्रेसले नजितोस् भन्ने चाहन्थे । तर, राजाको चाहना पूरा भएन ।
नेपाल फर्किनुमा उहाँको आफ्नै विश्लेषण थियो । पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको थियो । बिपीलाई पनि त्यस्तै गर्ने हुन् कि भन्ने हामीलाई लाग्थ्यो । तर, ‘मार्दैनन्, मार्ने परिस्थिति नै छैन’ भन्ने बिपीको विश्लेषण थियो ।
बिपी प्रधानमन्त्री भए पनि राजाले टिक्न दिएनन् । १ पुस ०१७ मा राजा महेन्द्रले ‘कु’ गरिहाले । गणेशमान सिंहसहितका सहयात्रीसँग बिपीले सुन्दरीजल जेलमा आठ वर्ष बिताउनुभयो । ०२५मा रिहा भएको केही समयपछि भारत प्रवासमा जानुभयो । र, पञ्चायतविरुद्ध सशस्त्र संघर्षको घोषणा गर्नुभयो । ०२९–०३१को त्यो सशस्त्र संघर्ष सफल हुन सकेन । र, उहाँ राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कने निर्णयमा पुग्नुभयो ।
मेलमिलापको नीति
पञ्चायतविरुद्ध सशस्त्र संघर्षकालमा म पनि भारत प्रवासमै थिएँ । बिपी बनारसमा बस्नुहुन्थ्यो । पटना आउजाउ गर्नुहुन्थ्यो । बनारस, पटना, गोरखपुरलगायत ठाउँमा कार्यालय नै खोलेर बसेका थियौँ । गणेशमान सिंह गोरखपुर बस्नुहुन्थ्यो । म नक्सलबाडीमा बस्थेँ । बिपी स्वदेश फर्कने निर्णयमा त पुग्दा उहाँविरुद्ध देशद्रोहका सात मुद्दा थिए । स्वदेश फर्कंदा मारिने सम्भावना पनि थियो । नेपालभित्र र बाहिरका शुभेच्छुकले बिपीलाई नेपाल नफर्किन सुझाब दिन्थे । भन्थे– ‘तपाईंलाई फाँसीको सजाय दिन सक्छन् । नेपाल फर्कनु उचित छैन ।’ तर, बिपी स्वदेश फर्कने कुरामा दृढ हुनुहुन्थ्यो । आफूलाई स्वदेश नफर्कन सुझाब दिनेलाई जवाफ दिनुहुन्थ्यो– ‘मभन्दा राष्ट्र ठूलो भएकाले फाँसी दिएर केही हुँदैन । म जसरी पनि नेपाल जान्छु ।’
नेपाल फर्किनुमा उहाँको आफ्नै विश्लेषण थियो । पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको थियो । बिपीलाई पनि त्यस्तै गर्ने हुन् कि भन्ने हामीलाई लाग्थ्यो । तर, ‘मार्दैनन्, मार्ने परिस्थिति नै छैन’ भन्ने बिपीको विश्लेषण थियो । उहाँले हामीलाई आफूसँगै फर्कन कर गर्नुभएन । यत्ति मात्र भन्नुहुन्थ्यो– ‘म तिमीहरूलाई नेपाल जाऊ भन्दिनँ । मचाहिँ जानुपर्छ ।’ लुकेर, छिपेर राति वा झिसमिसे बिहानमा होइन, दिउँसोको समयमा सबैले देख्ने गरी मूलबाटोबाटै नेपाल फर्कने उहाँको अडान थियो । ‘पक्राउ परिन्छ, मार्न पनि सक्छन्, तर नेपाल फर्कनुपर्छ’ भन्नुहुन्थ्यो ।
फर्कने चट्टानी अडान देखेपछि एकपटक मैले उहाँसँग प्रश्न गरेँ, ‘सान्दाइ ! भारत प्रवासमा आएपछि तपाईंले सशस्त्र संघर्षको आह्वान गर्नुभयो । त्यही आह्वानपछि हामी आयौँ । तर, अहिले हामी निहत्था नेपाल प्रवेश गर्दै छौँ । त्यसवेला हामीलाई किन यता (भारत प्रवासमा) आउनुप-यो भन्नुभयो र अहिले किन जानुप-यो भन्दै हुनुहुन्छ ?’ बिपीले यति मात्र भन्नुभयो– ‘नेपालमा निःशस्त्र आन्दोलनको जरुरत छ । त्यसैले, जानुपर्छ ।’ उहाँको थप भनाइ थियो– ‘मैले जेलनेल सबै भोगेँ । तर, अहिलेको जस्तो राजनीतिक तनाव यसअघि मलाई कहिल्यै भएको थिएन । नेपालको अस्तित्व जोगाउने हो भने म लामो समय भारतमा बस्नुहुँदैन ।’
उहाँको भावना पार्टीका केही साथीले मात्र बुझेका थिए । सिक्किमलाई इन्दिरा गान्धीले भारतमा विलय गरिदिइन् । इन्दिराले नेपाललाई पनि त्यसै गरिदिन सक्छिन् भन्ने बिपीको विश्लेषण थियो । भलै, संंयुक्त राष्ट्रसंघको सदस्य भएकाले नेपालले सिक्किमको नियति भोग्नुपरेन । ‘नेपाल स्वतन्त्र रहनुपर्छ’ भन्ने बिपीको भावनाका कारण फाँसीको कुरा आउँदा पनि उहाँ स्वदेश फर्कन तयार हुनुभयो । बिपी नेपाल फर्कने तयारीमा लाग्नुभयो । र, १६ पुस ०३३ मा फर्कने मिति पनि तय भयो ।
गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईंलगायत नेताका साथ उहाँ पटना–काठमाडौंको जहाज चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभयो । आफू आउनुभन्दा केही महिनाअघि नै बिपीले हामीलाई काठमाडौं पठाइसक्नुभएको थियो । यहाँ (काठमाडौं)को माहोल बुझ्न हामीलाई पठाउनुभएको थियो । निर्देशनअनुसार वासु कोइराला, धर्म गौतम र म २५ कात्तिक ०३३ मा पटनाबाट प्लेन चढेर काठमाडौं आएका थियौँ । हामीलाई पक्राउ परियो भने मार्न सक्छन् भन्ने डर लाग्थ्यो, बिपी ‘राजा त्यति मूर्ख छैनन्, जुन ढंगले तिमीहरू सोच्दै छौ’ भन्नुहुन्थ्यो ।
सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । प्रधानमन्त्री थापा र तुलसी गिरीलगायत शीर्षस्थ पञ्चहरू कांग्रेसलाई सिध्याउनुपर्छ र यसका लागि बिपीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने पक्षमा रहेको यहाँ आएपछि थाहा पाइयो । विमानस्थलबाटै हामीलाई पक्राउ गरेर हनुमानढोका लगियो । २५ दिनसम्म काठमाडौंमा राखेर झापास्थित भद्रपुर जेल लगियो । हामीलाई भद्रपुर लैजानुपर्ने कारण थिएन । तर, नक्कली मुद्दा लगाएर लगियो । त्यहाँ चिनेजानकै एकजना हवल्दार रहेछन् । मलाई देख्नेबित्तिकै भागे । उनलाई लागेछ, कुलबहादुरलाई मार्न ल्याइएको हो ।
प्रहरी अफिसर पनि मलाई मारेपछि मात्र थप निर्णय गर्नुपर्छ भन्ने पक्षमा थिए । पछि क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसीको सजाय नै दिइयो । ‘बिपीलाई मार्नुपर्छ’ भन्ने निर्णय गाउँदेखि राष्ट्रिय पञ्चायतसम्म पास भयो । काठमाडौंको विषयमा बिपी आफैँ जानकार हुनुहुन्थ्यो । हामी त पक्राउ परिहाल्यौँ, बिपीलाई रिर्पोटिङ गर्ने स्थिति भएन । त्यसैले, काठमाडौंको परिस्थितिबारे वासुु कोइरलाकी श्रीमती मञ्जु, मंगला भाउजू (गणेशमान सिंहकी श्रीमती)लगायतबाट गणेशमान हुँदै बिपीसम्म पुग्थे । हामीले जेलभित्र प्रशासन सुधारका लागि आन्दोलन ग-यौँ । त्यो मंगला भाउजूले थाहा पाउनुभएछ ।
सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । प्रधानमन्त्री थापा र तुलसी गिरीलगायत शीर्षस्थ पञ्चहरू कांग्रेसलाई सिध्याउनुपर्छ र यसका लागि बिपीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने पक्षमा रहेको नेपाल आएपछि थाहा पाइयो ।
मंगला भाउजूले मञ्जुलाई भन्नुभएछ । ‘तपाईंहरू कस्टडीभित्र प्लानिङ गर्नुहुन्छ ?’ भनेर मञ्जुले भन्दा हामीहरू छक्क पथ्र्यौं । प्रशासनका मानिसमा बन्दीलाई सकेसम्म बढी दुःख दिएर राख्नुपर्छ भन्ने मानसिकता थियो । अञ्चलाधीश हामीलाई मार्ने पक्षमा थिए । अञ्चलाधीशले मारिसकेपछि मात्रै माथि (दरबार र सरकार)लाई खबर गर्नेसम्मको हु“दो रहेछ । जस्तो, मृत्युदण्डको सजाय पाएका क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई गोली हानेर मारिएको कुरा राजाले मारिएपछि मात्र जानकारी पाएका रहेछन् । यो कुरा आफूसँगको कुराकानीमा राजा वीरेन्द्रले बिपीलाई भनेको बिपीले हामीलाई सुनाउनुभएको थियो ।
नेपाल फर्किएपछि बिपी पक्राउ पर्नुभयो । जेलमा थुनियो । जेल बसाइकै क्रममा बिरामी पर्नुभयो । राजाले ‘तिमी बिरामी छौ । दबाइ गर्न जाऊ’ भने । बिपीले जवाफ दिनुभयो, ‘होइन सरकार ! मभन्दा देश बिरामी छ ।’ आफू किन स्वदेश फर्केको हो, राजासँगको कुराकानीमा बिपीले स्पष्ट पार्नुभएको थियो । तर, राजाले बिपीको भावना बुझ्न सकेनन् । परिस्थिति बुझेर सोहीअनुसार राजनीतिक परिस्थितिलाई राजाले सही तबरले ह्यान्डल गर्न सकेनन् । विद्यार्थी आन्दोलन चर्किपछि राजाले जनमतसंग्रहको घोषणा त गरे । तर, त्यो देखावटि थियो । चाहेको भए राजाले जनमत संग्रहविना पनि प्रजातन्त्र दिन सक्थे । राजा आफैँले प्रजातन्त्र दिएको भए राजतन्त्रप्रति सकारात्मक भावना बन्थ्यो पनि । तर, त्यसो गरिएन । आफ्नो कुरालाई राजाले आत्मसात् नगर्दा बिपीमा खिन्नता आयो ।
जनमतसंग्रह : कांग्रेसलाई फाइदा
बिपी स्वदेश फर्केपछि यहाँको आन्तरिक राजनीतिमा हलचल सुरु भयो । उहाँको स्वदेश फिर्ताको सबैभन्दा सकारात्मक असर भनेको जनमतसंग्रहको घोषणा हो । पाकिस्तानका प्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई दिइएको फाँसीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनपछि राजा वीरेन्द्र जनमत संग्रहको घोषणा गर्न बाध्य भएका थिए । निमित्त कारण यो भए पनि बिपी स्वदेश नफर्केको भए सम्भवतः राजाले विद्यार्थी आन्दोलनकै कारण जनमतसंग्रह घोषणा गर्दैनथे । गणेशमान सिंहले पञ्चायती सरकारकै नेतृत्वमा हुने जनमतसंग्रहको विरोध गर्दै आन्दोलनको धम्की दिनुभयो । कृष्णप्रसाद भट्टराईले सत्याग्रहको कुरा निकाल्नुभयो । गिरिजाप्रसाद कोइरालाले फेरि बन्दुक बोक्ने कुरा गर्नुभयो । तर, बिपीले सबैलाई सम्झाएर जनमतसंग्रहका लागि पार्टी पंक्तिलाई तयार बनाउनुभयो ।
जनमतसंग्रहमा पञ्चायतले जित्यो, बहुदल पक्ष पराजित भयो । तर, जनमतसंग्रहको परिणाम बिपीले स्वीकार गर्नुभयो । भन्नुभयो- ‘जनमतलाई हामीजस्ता प्रजातन्त्रवादीले अस्वीकार गर्छु भन्न मिल्दैन । नहुनुपर्ने थियो, भइहाल्यो । तर, यो गलत हो भनेर जनतालाई भन्न समय लाग्छ ।’ जनमतसंग्रहमा बहुदल पक्षको पराजय भए पनि कांग्रेसलाई लाभ नै भयो । सबैभन्दा ठूलो लाभ, पार्टी संगठन खुला भयो । कांग्रेसको झन्डा, कांग्रेसका मान्छे, कांग्रेसको बोर्ड सबैले देखे । कांग्रेसी एक ढिक्का हुँदै गए । संगठन बन्यो । पार्टी ब्युँझियो । जनमतसंग्रहपछिका यिनै परिणामका कारण कांग्रेसले जीवन पायो, अहिलेसम्म कांग्रेस बाँचेको एउटा प्रमुख कारण यो पनि हो । नयाँपत्रिका दैनिकबाट ।
